
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालले कंचनपुरमा भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै यसबारे सरकारको जवाफ माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका अर्यालले कंचनपुरको सीमा क्षेत्र नेपाली भूमीमा भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको भन्दै छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेका हुन् ।
भारतीय पक्षले एकलौटी रुपमा नेपालको भूमि अनधिकृत रूपमा नाप जाँच गरे पनि त्यहाँका सुरक्षाकर्मीले कुनै सुइको समेत नपाएको भन्दै यसबारे सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
‘असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेश्नल हाइवे सर्वे गर्ने भन्दै कञ्चनपुर भुजेला गड्डाचौकी हुँदै सुका सालसम्मको भूमि नाप जाँच गरे । सर्भेका सामानसहित आएका ती भारतीय प्राविधिक नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँको समेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्रै सीमानामा खटाइएको हो ? सांसद अर्यालले प्रश्न गरे ।
उनले सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीयहरू धेरै सचेत भएर विरोध गरेको बताए ।
शुक्रबार भारतको सर्वे अफ इन्डियाले पठाएको हो भन्दै कंचनपुरको गड्डाचौकी, भुजेला, सुकासाल लगायतको नेपाली भूमिमा नापजोख गर्ने पाँच भारतीयलाई नेपाली जिल्ल प्रशासनले नियन्त्रणमा लिई सोधपुछ गरेर छोडेको थियो ।
नियन्त्रणमा लिइएका एक सर्भेयर, तीनजना सहयोगी र एकजना चालकलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिई प्रमुख जिल्ला अधिकारीको रहोबरमा बयान लिएर छोडिएको थियो ।
भारतको राष्ट्रिय राजमार्ग सम्बन्धी निकायले सिमानाका १४ रिफरेन्स बिन्दु जाँच्न खटाएका परामर्शदाता कम्पनीका कर्मचारी भएको खुलेको र
दोधाराचाँदनीमा निर्माण सुरु हुन लागेको सुख्खा बन्दरगाहसम्म पुग्ने राजमार्गसहितको सर्भेका लागि सो टोलीले सिमानामा सर्भे गरिरहेको खुलेको कंचनपुर प्रहरीको भनाई छ ।











