नेपाल र जापानबीच श्रम सम्झौता, जापान जान भाषा र सीप परीक्षा अनिवार्य

काठमाडाैं । नेपाली कामदारलाई जापान लैजाने विषयमा सोमबार नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले  श्रम सम्झौतामा हस्ताक्षर गरेका छन् ।

योग्य नेपाली कामदारलाई जापान लैजानका लागि दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओयू) मा हस्ताक्षर भएको छ । यो सम्झौता आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने बताइएको छ ।

अब जापान जाने नेपालीले भाष र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नु पर्ने छ । कामदारले आफ्नो कार्य क्षेत्रमा सामान्य बोलचाल गर्न सक्ने आधारभूत एन ४ तहको भाषा पास गर्नुपर्ने छ । यसरी जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाजका पाटपूर्जा उद्योग, हवाई उद्योग गरी १४ वटा उद्यौगिक क्षेत्रमा श्रमिक लानेछ ।

जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ । त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ ।

नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्यण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट जापानले कामदार लिने जनाएको छ ।

सरकारले कामदारलाई कहिले पठाउने भन्ने विषय अहिले नै टुंगो लागिसकेको छैन् । सरकार आफैले कामदारको सुरक्षा सहित जापान पठाउनका लागि छुट्टै संयन्त्रको निमार्ण गर्ने तयारी समेत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार