काठमाडौं । सूचना तथा प्रसारण विभागले पत्रकारलाई दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको म्याद अब तीन वर्ष हुने भएको छ । सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई यो वर्षबाट भने ३ वर्षको हुने भएको हो ।
एक वर्षको मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र दिँदा राजधानीभन्दा बाहिरका पत्रकार समस्यामा परेको भन्दै विभागले यस्तो निर्णय गरेको हो । अस्थायी पत्रकारको हकमा भने एक वर्षको नै प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।
कानुनमा प्रमाणपत्रको अवधि तीन वर्षको भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारहरुको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन् ।
छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११(१)मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख छ । तर अभ्यासमा भने एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो ।
स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको विभागले जनाएको छ ।
विभागले एफएम रेडियो इजाजत÷लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको छ ।