काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् ।
सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानून निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको बताए ।
संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषदको बैठकबाट पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने तयारी रहेको जानकारी गराउन चाहन्छु ।’