काठमाडौं । शलगानी सम्मेलन २०१९ काठमाडौंमा सुरु भएको छ । आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विदेशी लगानी भित्र्याउने सम्मेलनको उदेश्य रहेको छ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा राजनीतिक संक्रमण अन्त्य गरी समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न सहभागीहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उनले सम्मेलनले नेपालमा लगानी भित्राउनमा सहयोग पुर्याउने बताएका छन् ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।