काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् दक्षिण एशियाको विकासका लागि महत्वपूर्ण आधारस्तम्भ भएकाले यसमा लगानी गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा शुक्रबारदेखी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपाल सरकार आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको र त्यसमा पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको जानकारी समेत दिए।
ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले लगानीमैत्री वातावरण बनाएको र ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको मन्त्री पुनले बताए ।
सरकारले एकीकृत जलस्रोत नीतिमार्फत जलस्रोतको बहुउपयोगमा जोड दिएको, सम्भाव्य परियोजनालाई सार्थक सहयोग उपलब्ध गराएको तथा नदी बेसिनको अध्ययनसमेत अगाडि बढाएको मन्त्री पुनले जानकारी दिए ।
ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा समेत राखेको उनको भनाई थियो ।
उक्त सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड्ले सरकारले आगामी तीन वर्षमा तीन हजार मोगावट, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएकाले त्यसलाई व्यवस्थापन गर्न आफूहरू लागिपरेको बताए।
प्राधिकरणले नदी प्रवाहमा आधारित आयोजनाभन्दा जलाशययुक्त र अर्धजलायशयुक्त आयोजनालाई प्राथमिकतामा राखी विद्युत् खरीद सम्झौताको नयाँ मूल्यसूचीसमेत सार्वजनिक गरिसकेको घिसिडले जानकारी दिए ।
यस्तै सोहि सत्रमा बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इञ्जिनीयर मोहबुबुर रहमानले आफ्नो देशको कूल मागमध्ये १५ प्रतिशत विद्युत् छिमेकी देशबाट आयात गरिरहेकाले आगामी दिनमा नेपालबाट समेत बिद्युत निर्यात गर्न सकिने बत।
बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य लिएको जानकारी दिदै बोर्डका प्रमुख रहमानले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट तत्काल ५०० मेगावाट विद्युत् खरीद गर्न लागिरहेको बताए।
सम्मेलनमा पावर चाइनाका महाप्रबन्धक सड्ं दोड्। सेड्। ले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताए।
यसैगरी भारतको केन्द्रीय विद्युत् नियमन आयोगका सचिव सनोजकुमार झाले नेपाल, बङ्गलादेश र भुटानको विद्युत् विकासका लागि आफ्नो सरकारले प्रमुख प्राथमिकतामा राखी अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी गुरुयोजनासमेत तय गरेको जानकारी दिएका थिए।
लगानी सम्मेलनमा यसरि नै विभिन्न बिषयगत सत्रमा पहिलो दिन छलफल भएको छ ।