दुई सातापछि बाजुरा खाद्यमा चामल ढुवानी, दुईवटा डिपोमा अझै अभाव


बाजुरा । चामल सकिएको दुई सातापछि बाजुरामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल ढुवानी सुरु गरेको छ । मार्तडीमा रहेको कम्पनीमा एकै दिन दुई सय क्विन्टल चामल ढुवानी गरिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाका अनुसार गत शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको छ । जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

उनले ढुवानी गरिएको चामल आइतबारबाट प्रतिकिलो रु ९२ मा बिक्री हुने गरिएको छ । बजारमा मसिना चामलको रु ९५ मा पर्ने जनाइएको छ । मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।

मार्तडीमा रहेको शाखा कार्यालयमा चामल पुगे पनि अन्य अस्थायी बिक्री केन्द्र र डिपोमा भने चामल अभाव रहेको स्थानीयले बताएका छन् । कोल्टी डिपोमा दुई सय क्विन्टल मौज्दात चामल रहेको भए पनि हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकतानुसार थप चामल आउने र अन्य बिक्री केन्द्रमा भने ठेक्का प्रक्रिया पूरा भएपछि मात्र चामल ढुवानी हुने बताइएको छ । तर ठेक्का प्रक्रियाको अहिलेसम्म कुनै छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार