जलाउन लागिएको महिलाको शव नियन्त्रणमा, श्रीमानसहित ३ जना पक्राउ


सर्लाही । सर्लाहीमा चितामा जलाउन लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव चितामा जालाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसंन्धान गरिरहेको डिएसपी दीपेन्द्र पंजियारले बताए । शंकास्पद देखिएपछि मसान घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको डीएसपी पंजियारले जानकारी दिए ।

छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको सुनिलको परिवारको दाबी रहेको प्रहरीको भनाई छ । उता माइती पक्षले मनिषाका श्रीमान सुनिलसहित परिवारका सदस्य मिलेर छोरीको हत्या गरेको दाबी गरेका छन् ।

मनिषाले आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले श्रीमान सुनिलसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए । घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार