काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।
महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी र गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री किरातीले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका हुन् ।
आफुलाई स्पष्टीकरण सोधिएको खबर आएपछि संचारमाध्यमलाई प्रतिकृया दिदैं महानिर्देशक अधिकारीले राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्री स्वयमले स्पष्टीकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गलत भएकोले त्यसको जवाफ नदिने बताएका छन् । स्पष्टीकरणको जवाफ नदिदा आफुलाई आइपर्ने जस्तो सुकै परिस्थिीको सामाना गर्न तयार रहेको समेत उनले बताएका छन् ।
स्पष्टीकरणमा आर्थिक वर्ष २०७९/८० को संघीय संसद्ले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा महानिर्देशक अधिकारीले नेपाल सरकारको उक्त नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने,उक्त नीतिविपरीत सञ्चार माध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता कार्य गरेको जनाइएको छ ।
त्यस्तै नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको पाइएको भन्दै मन्त्रालयले उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५६ विपरीत रहेकाले के कति कारणले आफ्नो पदीय जिम्मेवारीविपरीत नीतिविरुद्धका कार्य गरिएको हो भनी सोधिएको छ ।
यसैगरी अधिकारी महानिर्देशक भई आएपछि ५ वटा विमान दुर्घटना भएकाले उड्डयन सुरक्षा प्रभाकारी बनाउन नसकी असफल भएको, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले २०२२ मा गरेको उडान सुरक्षा अडिटविपरीत कार्यात्मक विभाजन गरेको, २०७९ पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनको दिन हेरेर उडान गर्ने (भीएफआर) समय सकिसकेपछि उडान सुरक्षामा प्रतिकूल असर पर्नेगरी ५ वटा उडान गराएको, पोखरा र भैरहवा विमानस्थल सञ्चालन गराउन नसकेको लगायतका विषयमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।
यो पनि पढ्नुहोस
मन्त्री किरातीले सोधे प्राधिकरण महानिर्देशक अधिकारीलाई स्पष्टीकरण