बझाङ । बझाङमा गएको भूकम्पले एक विधालयको भवन भत्किएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ४ गोलाईस्थित वाल विकास माविको टिनले छाएको कच्ची भवन भत्किएको हो । भुकम्पको पहिलो धक्का महशुस भएपछि बिधार्थीहरुलाई घर पठाएकाले मानविय ठूलो क्षति हुनबाट जोगिएको विधालयका शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए ।
बझाङमा आज दिउँसो दुई चोटी शक्तिशाली भूकम्प गएको छ ।
आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ र आजै दिउँसो २ बजेर ४० मा बझाङको तालकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । दोस्रो पटक गएको शक्तिशाली भूकम्पबाट केहि घरहरु भत्किएको र मानिसहरुको भागाभाग भएको बताइएको छ । क्षतिको विवरणबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस्तै भूकम्पका कारण अछाममा एक विधार्थी घाइते भएका छन् । भूकम्प जाँदा अछामको बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नास्थित विन्ध्यावासिनी माद्यामिक विद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको बताइएको छ ।