काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सम्पन्न लगानी सम्मेलन निकै उपलब्धिपूर्ण र उत्साह रहेको बताए ।
शनिवार काठमाडौंमा सम्पन्न सम्मेलनले देशको पूर्वाधार विकासमा ठुलो लगानी जुटाउन सकिने आधार तया भएको उनले दाबी समेत गरे ।
रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो, राष्ट्र एक ठाँउमा रहेर नेपालमा लगानी गर्ने सहज वातावरण रहेको सन्देश विश्वलाई दिएका छौं ।”
नेपाललाई समृद्ध बनाउन सक्षमता नेपालसंगै रहेको भएपनि त्यसका लागि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्री ओलीको दावी थियो । सामाजिक न्यायसहित नव नेपाल निर्माणमा सरकारले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको समेत उनले बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको बताउँदै सबैलाई सकारात्मक सोच राख्न आग्रह गरे ।