पर्सा । हावाहुरीका कारण पर्सा र बारामा दुई दर्जन बढिको मृत्यु हुनका साथै चार सय बढि घाईते भएका छन ।
पर्सा र बाराको विभिन्न ठाँउमा हावाहुरीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको र चार सय बढि घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा बालबालिका र बृद्धाहरु बढि रहेको बताइएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन भने घाईतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
मृतकको शव नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र नारायणी लगायतका अस्पतालहरुमा ल्याएर राखिएको छ । आइतबार साँझ आठ बजेपछि आएको एक्कासी आएको हावाहुरीका कारण विभिन्न स्थानमा विजुलीका खम्बा र रुखहरु ढलेका छन भने कतिपय घरहरुमा क्षती पुर्याएको छ । हुरी जोडले आएका कारण लाखौंको धनमालको क्षती समेत भएको छ । हावाहुरी प्रभावित क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरुले उद्धारको काम गरिरहेको छ ।
प्रधानमन्त्रीद्धारा गहिरो दुख ब्यक्त
घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारी टुइटरमा लेख्दै घटनाबारे गहिरो दुख ब्यक्त गर्दै घाईतेको उपचार र उद्धारमा कुनै कमि हुन नदिन निर्देशन समेत दिएका छन ।
एक्कासी आएको हावाहुरीमा परी दुखत घटना हुन पुगेको भन्दै प्रदेश सरकार लगायत केन्द्र सरकार र विभिन्न राजनितिक दलका नेताहरुले दुख ब्यक्त गरिरहेका छन । साथै घाईतेको उद्धारमा कुनै कमि नहुन मातहतका निकायहरुमा निर्देशन समेत दिइएको छ ।