सरकारद्धारा इजरायलबाट थप १९ नेपालीको उद्धार


काठमाडौं । सरकारले युद्धग्रस्त इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनी विद्रोही हमास समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने योजनाअनुसार थप १९ जनाको उद्धार गरिएको हो । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार गरेको परराष्ट्रमन्त्री एनपी साउदले जनाएका छन् ।

उद्धार गरी स्वदेश फर्किन लागेका नेपालीहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठ रहेको मन्त्री साउदले बताए ।

उनकाअनुसार इजरायलको तेल अविवबाट आज बिहान ९ बजे भारतको स्पाइस जेटमार्फत थप १९ जना नेपाली स्वदेश फर्किन लागेका हुन् । भारतबाट उक्त विमान आफ्ना नागरिक ल्याउन इजरायल पुगेको थियो ।

उद्धार गरि नेपाल फर्किन लागेका नेपालीलाई भारतको दिल्लीस्थित नेपाली दूतावासले एयरपोर्टमा स्वागत गर्दै सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने व्यवस्था मिलाइएको मन्त्री साउदको भनाई छ ।

उनिहरुलाई दिल्लीबाट गाडीमार्फत कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल भित्र्याउने र त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको मन्त्री साउदले बताए ।

यसअघि नेपाल सरकारले मन्त्री साउदलाई नेपाल एयरलाइन्सको जहाजसहित इजरायल पठाएर २५४ नेपालीहरुको उद्धार गरि स्वदेश ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार