कैलाली । कैलालीको गेटामा भोलिबाट प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा आउने भएको छ । प्रस्तावित विश्वविधालयमा भोलीदेखि हाललाई १ सय शैयाको अस्पताल सञ्चालनमा आउन लागेको हो।
अस्पताल संचालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेकाले भोलीबाट संचालनमा ल्याउन लागिएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए । आज गेटामा पत्रकार सम्मेलन गर्दै अस्पताल सञ्चालन हुनेबारे जानकारी दिइएको हो ।
अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर ११० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको निर्देशक जोशीले बताए ।
अस्पताल सञ्चालनका लागि अहिले निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका उनले बताए।
गेटा अस्पतालले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने पनि निर्देशक जोशीले बताए।
अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा दिइने उनले बताए । यसका साथै अस्पताबाट कात्तिक महिनाभित्र एमसीएच क्लिनिक सेवा, मंसिर महिनाभित्र खोपसेवा विस्तार र अन्तर्ङ सेवा, पौष महिनाभित्र इमरजेन्सी सेवा र प्रसुती सेवा, चैत महिनाभित्र शल्यक्रिया सेवा विस्तार र आगामी बैशाखभित्र आइसियु तथा एनआइसियु सेवा सञ्चालनमा ल्याउने तयारी रहेको निर्देशक जोशीले बताए।
सुदूरपश्चिम प्रदेशका ७ पहाड र २ तराई गरी ९ वटै जिल्लालाई मध्य नजर गर्दै गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविधालयकै रुपमा संचालन गर्ने सरकारको योजना छ । सुदूरपश्चिमका दुरदराजका जनतालाई सेवा दिदैं आएको सेती प्रादेशिक अस्पतालमा बिरामीको ज्यादै रहेकाले भोलीदेखि संचालनमा आउने गेटा अस्पताल संचालनबाट बिरामीहरुलाई केहि सहजता हुनेछ ।