काठमाडौँ । आज बडा दशैंको दशौं दिन मान्यजनबाट टिका र आर्शिवाद थापेर मनाइदैछ । हिन्दू धर्मावलम्बीहरुले दसैँ घर वा पूजा कोठामा नौं दिनसम्म विभिन्न देवि देउताहरुको पुजा आजा गरी दशौं दिनमा मान्यजनबाट टिका र आर्शिवाद ग्रहण गर्ने गर्दछन् । नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा लगाउने परम्परा छ । दशैंको टिकाका लागि शुभ साइत बिहान ११ : ०२ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बडादशैंको टिकाको दिन आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत पर्खिरहनु नपर्ने मान्यता पनि छ । दशैंको टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टिका र जमरा लगाउने चलन पनि छ ।
दशैंलाई विभिन्न समुदायकमा फरक फरक ढंगले मनाउने गरिन्छ । हिन्दू धर्मावलम्बीवाहेक अन्य समुदायका मानिसहरुले पनि आफन्तसंग भेटघाट गरेर, मिठो मसिनो खाएर दशैं मनाउने गर्दछन् ।
आदिवासी जनजाती , नेवार, थारु, मधेस, हिमाली लगायतका समुदायमा भने दशैं मनाउने प्रचलन फरक फरक पाइन्छ ।
नेपालका कतिपय आदीवासी जनजातिहरुले आफ्ना पुर्खाको हत्या गरेर जबरजस्ती दशैं मनाउन लगाएकाले भन्दै उनिहरुले पछिल्ला केहि बर्ष यता दशैं वहिष्कार समेत गर्दै आएका छन् ।