इजरायलबाट ल्याइयो बझाङका गणेश नेपालीको शव


काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये बझाङका गणेश कुमार नेपालीको शव नेपाल ल्याइएको छ ।

इजरायलबाट आज बिहान ७ बजे बझाङ जिल्लाको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मनत्रालयका सहसचिव शरदराज आरणका अनुसार फ्लाई दुबईको विमानमार्फत शव काठमाडौं ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये केहि दिनअघि मात्रै चार जनाको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो । आज ल्याइएको गणेशको शव गरी हालसम्म पाँच जनाको शव नेपाल ल्याइसकिएको छ । बाँकी जाँचजना विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र चाँडै नेपाल ल्याइने सहसचिव आरणले बताए ।

आज ल्याइएको शव आफन्तलाई बुझाउने तयारी रहेको उनले बताए ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिलेसम्म सम्पर्कविहीन रहेका छन् ।

गत असोज २० गते शनिवार बिहान प्यालेस्टाइनी आतंककारी समुह हमासको आक्रमणमा परी मृत्यु हुने १० नेपाली विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् भदौ २५ र २६ गते इजरायल गएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार