काठमाडौँ । सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो । बैठकले पोर्चुगलमा सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् संचारमन्त्रि रेखा शर्माले जानकारी दिइन् ।
नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरे अनुसार पोर्चुगलमा दूतावास स्थापना गर्ने भएको हो ।
गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।
विश्वका २६औं देशका रुपमा पोर्चुगलमा नेपाली दूतावास स्थापना भएपछि त्यहाँ रहेका नेपालीहरुलाई अझै सहज हुने भएको छ । दूतावास स्थापना भएसंगै पोर्चुगलमा रहेका नेपालीलाई भिसा, रोजगारी, सुरक्षा लगायतका बिषयमा सहजता हुनेछ । रोजगारीका लागि नेपालीहरुको रोजाईमा युरोप देश पोर्चुगल पनि उच्चस्थानमा पर्नेगर्छ ।