काठमाडौं । हिन्दू धर्मालम्बीहरुको अर्को ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको हो ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीको भनाई छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।