कपिलवस्तु । कंचनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा मृत्यु भएका १० जनाको परिचय खुलेको छ। गएराती करिब २ बजे कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको हो।
मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे सेनामा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान, त्यस्तै कंचनपुरको भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिकाका किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा परी अन्य ३० जना यात्रु घाइते भएका छन् । जसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना हुनुको कारणबारे प्रहरीले अनुसंन्धान गरिरहेको छ ।