काठमाडौं । भारतले आफुमाथी सैन्य आक्रमण गर्ने योजना बनाइरहेको पाकिस्तानले दाबी गरेको छ । भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको विश्वसनीय सूचना आफुले पाएको पाकिस्तानले दाबी गरेको छ।
पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार साँझ बताएका थिए।
तर, उक्त भनाइलाई भारतले भने पाकिस्तानको ‘युद्ध उन्माद’ रहेको भन्दै प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन ।
गत फेब्रुअरीमा भारत(प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि भारत पाकिस्तानबीच तनाव बढेको थियो।
आफ्ना सुरक्षाकर्मीको हत्या गरेको भन्दै भारतको सैन्य विमान पाकिस्तान भुमिमा छिरेर बम खसालेपछि झन दुबैदेश युद्ध भएको संकेत गरेको थियो । भारतको सैन्य बिमान आफ्नो देशमा घुसेर बम खसालेपछि पाकिस्तानले त्यसको जवाफ दिनेभन्दै भातिय सैन्य लडाकु विमानलाई पाकिस्तानी भूमिमा खसालेर त्यसका चालकलाई कब्जामा लिएको थियो।
त्यसपछि दुबै देशको तनावलाई लिएर विश्वभर चर्चा भएको थियो । पाकिस्तानले भारतसंग युद्ध गर्ने आफ्नो कुनै योजना नरहेको तर भारतले आक्रमण गरेकोमा आफुहरु त्यसको जवाफका लागि सधै तयार रहेको बताएको थियो ।
भारतसँग तनाव नचाहेको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नियन्त्रमा रहेका भारतिय सैन्य विमानका पाइलटलाई सकुशल फिर्ता पठाउने घोषणा गरेका थिए। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उक्त भनाईले उनको विश्वभर प्रसंशा भएको थियो । त्यसपछि इमरानकै आग्रहमा पाकिस्तानी सैनिकको कब्जा रहेका भारतिय सैन्य विमानका पाइलट स्वदेश फर्केका थिए ।