‘पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधन जरुरी’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
आज बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका हुन् ।

उनले लगानी सम्मेलनलाई सफल र परिणाममुखी बनाउन पनि कानुन संशोधन पहिलो प्राथमिकतामा रहेको बताए ।

‘आगामी लगानी सम्मेलनलाई सफल मात्रै होइन परिणाममुखी पनि बनाउने कुरा हो । त्यसको लागि सरकारले केही ऐनहरू संशोधन गर्न जरुरी छ । ऐन संशोधन गरी विदेशी लगानी आकर्षण गर्न सकियोस्’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपालका ऐन र कानुनी जटिलता भएकाले लगानीमा समस्या ल्याएको भन्ने विषय बाहिर गएको भन्दै लगानीकर्ताले थाहा पाउने गरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह गर्न अध्यादेशबाट भए पनि अपरिहार्य र अनिवार्य रूपमा ऐनहरू संशोधन गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणपछि लगानीको लागि अझ आकर्षण बढेको दाबी गर्दै सम्मेलनमा आउनेहरूको प्रतिबद्धता अझ बढेको पनि उल्लेख गरे । उनले अर्थ मन्त्रालय, योजना आयोग सबैबाट सम्मेलनलाई सफल र नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिने गरी काम गर्न समेत आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार