रञ्जिता श्रेष्ठको अर्को कार्वाहीः पार्टीका संसदीय दलका नेता चौधरी ३ महिनाका लागि निलम्बित


कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवम् पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पार्टी निर्णय विपरीत जानेलाई कार्वाही गर्ने क्रम जारी राखेकी छन् । त्यसक्रममा आज मात्रै नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बित गरेकी छन् । अध्यक्ष श्रेष्ठले चौधरीलाई यसअघि पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठले प्रदेश सभामुख भीम भण्डारीलाई चौधरीलाई निलम्बन गरिएको जानकारीसहितको पत्र पठाएको नाउपाका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले बताए।

अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर आफु निकटका कैलाश चौधरीलाई जिम्मेवारी तोकिसकेकी छन् । उनलाई अध्यक्ष श्रेष्ठले मुख्यमन्त्रीको रुपमा अघि सार्ने योजना बनाएकी छन् ।

अध्यक्ष श्रेष्ठले पार्टीको नीति र निर्णय विपरीत जाने रेशम चौधरी पक्षका प्रदेश सरकारका काम चलाउ मन्त्रीहरुमाथि पनि कार्वाहीको डण्डा चलाउने तयारी गरेकी छन् । उनले यसअघि नाउपा समानुपातिक सांसद राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिसकेकी छन् ।

काँग्रेससंगको सत्ता गठबन्धन टुटेसंगै नाउपामा चरम विवाद उत्पन्न भएको छ । पार्टीका संस्थापक नेता रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच कुरा नमिल्दा पार्टीमा चरम विवाद उत्पन्न भएको हो ।

अध्यक्ष श्रेष्ठ र उनका पति चौधरीबीच सत्ता गठबन्धानमा बस्ने की प्रतिपक्षमा बस्ने भन्ने बिषयमा विवाद छताछुल्ला बाहिर आइसकेको छ । अध्यक्ष श्रेष्ठ प्रचण्ड नेतृत्वको सत्तापक्षको गठबन्धनमा छिन् भने उनका पति काँग्रेससंगको विपक्षी गठबन्धनमा छन् ।

श्रीमान र श्रीमतीको राजनीतिक लाइन नमिलेपछि पार्टी नै फुट्ने होकी भन्ने विश्लेषण समेत हुन थालेको छ ।
उता पार्टीका शुभचिन्तकहरु भने थारुहरुलाई समेटेर पहिचानको आन्दोलनबाट उदाएको पार्टीको भविष्यबारे चिन्ता गरिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार