
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत पाएका छन् । भर्खरै सम्पन्न प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार संचालन गर्न विश्वासको मत पाएका हुन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट बहुमतले विश्वासको मत पाएको घोषणा गरेका छन् ।
संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा पेस गरेका थिए । विश्वासको मतको पक्षमा १५८ मत परेको थियो भने विपक्षमा कुनै पनि मत परेन।
प्रतिनिधि सभाका २ सय ७५ सदस्यमा १५८ जना मत विभाजनमा सहभागी भएका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने १ जना तटस्थ बसेका थिए ।
नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको छ।
प्रचण्ड सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पार्टी विभाजनपछि सरकार छाड्दै दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक ब्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससहित विपक्षी सांसदहरुको नाराबाजीकाबीच विश्वासको मत लिएका छन् । काँग्रेस लगायतका विपक्षी दलहरुले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै संसद निरन्तर अवरोध गर्दै आएका छन् ।









