काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसंगै सुनको मुल्यमा एकैदिन भारी गिरावट भएको छ । नेपाली बजारमा आज एकैदिन सुनको प्रतितोला ४ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३।२ प्रतिशत हाराहारीमा घट्दा त्यसको असर नेपालमा पनि परेको हो । । हिजो सुरुवाती सुनको कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको थियो भने आज सुरुवाती समयमा २६५७ सम्म झरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा सुन सस्तिएको हो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।