काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफुहरु काँग्रेस र एमालेको संगतले बिग्रेर अब भेडा झै भ्या भ्या नगर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गत ‘प्रचण्डपथः सडक कि सत्ता ?’ विषयक अन्तरकृयामा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेलाई राजनीतिक भेडाको संज्ञा दिदै आफुहरु उनिहरुको संगतमा परेर भ्या भ्या गर्न थालेको र अबदेखि नगर्ने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भेडा र सिंहको कथा सुनाउँदै सिंहलाई जब भेडाहरुले इनारमा लगेर उसको अनुहार देखाए तब सिंहले आफुलाई सिंह भएको चिने झै आफुलाई काँग्रेस र एमालेले त्यसैगरी चिनाइ दिएकाले माओवादी केन्द्र जनतामाझ गएको प्रष्ट पारे ।
उनले अहिले माओवादी केन्द्र सत्ता र सडक दुबैमा रहेको समेत बताए । राष्ट्रिय सभामा पहिलो दल रहेको माओवादी केन्द्रले स्थानिय तहमा १२२ वटा पालिकामा सरकार चलाइरहेको बताए । अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प पुरानो व्यवस्थामा फर्किने नभई अझै अग्रगामी सुदृढ लोकतन्त्र नै भएको बताए।
अन्तरकृयामा सोधिएका प्रश्नको जवाफ दिदै अध्यक्ष प्रचण्डले आफ्नो यस पटकको प्रधानमन्त्री कार्यकालमा भ्रष्टाचार र सुशासनको क्षेत्रमा एतिहासिक काम भएको दावी गरे । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध कडा कदम चालेकै कारण सत्ताबाट हटाइएको प्रचण्डको भनाई थियो ।
उनले बर्तमान सरकारले भ्रष्टहरुको संरक्षण, संविधान र लोकतन्त्र विरोधी क्रियाकलाप गरिरहेकाले त्यसको जनता स्तरबाट सशक्त प्रतिरोध हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार, बेथिती, बिसंगती, कुशासनको विरोध गर्दै जनताका मुद्धामा देशभरीका ७ सय ५३ वटै पालिकामा खबरदारी सभा गर्ने जानकारी पनि दिए ।