काठमाडौं । अहिले देशका विभिन्न पालिकाहरुमा उपनिर्वाचनको मतदान जारी छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको हो । आज बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको आयोगले जनाएको छ । आयोगकाअनुसार उपनिर्वाचनमा काँग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा लगायत विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अहिलेसम्म सबै मतदान केन्द्रहरुमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ । उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयर पदलाई बिशेष रुपमा हेरिएको छ । यसअघि काँग्रेसले जितेको सो क्षेत्रको मेयर पद एमाले, माओवादी र स्वतन्त्रले जित्ने दाउमा छन् । दलहरुले यो उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठा र ८४ को आम निर्वाचनको आँखीझ्यालका रुपमा पनि लिएका छन् ।