काठमाडौं । चैत अष्टमी अर्थात चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधाना गरी मनाउँदैछन् ।
आज काठमाडौं लगायत मुलुकका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानै देखि भक्तजनहरुको घुँइचो लागेको छ । चैत र असोजमा गरी वर्षमा दुई पटक गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्र उल्लेख छ ।
असोजमा मनाईने वडा दशैं भन्दा कम महत्वको मानिए पनि चैते दशैंको दिन पनि देवीको मन्दिरमा बलि दिने र पूजा आरधना गर्ने गरिन्छ । शक्तिस्वरुपा भगवतीको आरधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ ।
चैते दशैंको दिन काठमाडौंका दक्षिणकाली, शोभा भगवती, गुहृयेश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायतका शक्तिफिठमा दर्शनार्थीको घुँईचो लागेको छ । दानवीय शक्तिमाथि दैवी शत्तिको विजय उत्सवका रुपमा मनाईने चैते दशैंमा विभिन्न शक्तिपीठहरुमा पशुवली दिने गरिन्छ ।