
काठमाडौं । राजावादी प्रर्दशन हिंसात्मक भएपछि आन्दोलनका नेताहरु धमाधम पक्राउ परिरहेका छन् ।
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित राप्रपाका नेताहरु प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार संयोजक सुवेदीलाई उनको बयोबृद्ध स्वास्थका कारण घरमै राखिएको छ । सुवेदी काठमाडौंको वडा ७ स्थित कुमारीगाल बस्दै आएका छन् ।
त्यस्तै केहिबेर अघि प्रहरीले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादु तामाङले उनीहरूलाई पक्राउ गरेर राखिएको पुष्टि गरेका छन्।
बीएण्डी अस्पतालबाट घाइतेलाई भेटेर फर्किँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेर लगेको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । दुबैलाई अहिले टेकु प्रहरीमा राखिएको बताइएको छ ।
प्रहरीले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पक्राउ गरेको छ ।
नेपाललाई भने उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । अन्य राजावादी नेता, कार्यकताहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रर्दशनमा एकजनापत्रकारसहित दुईजनाको मृत्यु भएको छ । आन्दोलनकारीहरुले त्यस क्षेत्रका घर, पसलहरुमा तोडफोड, आगजनी र लुटपाट गरेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरिरहेको छ । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई पनि पक्राउ गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । सरकारले राजावादी प्रर्दशन हिंसात्मक भएकाले त्यसमा संलग्नमाथि कारबाही गरिने बताएको छ ।










