
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कर्णाली प्रदेशका अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देबीकृष्ण न्यौपानेसहित नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
आज अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा जसपाको कर्णाली प्रदेशका अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता–कार्यकर्ताहरू पार्टी प्रवेश गरेको प्रचण्ड सचिवालयले जनाएको छ । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका छन्।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको दाबी गरे । उनले पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने समेत बताए ।
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए ।
सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने उनले विश्वास व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यस्तै गत जेठ १२ गते ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट अलग भएको गंगानारायण श्रेष्ठसहित सयौं नेता कार्यकर्ताको समुह र माओवादी केन्द्रबीच एकता भएको थियो ।
एकतामा नेसपाका तर्फबाट सहध्यक्ष श्रेष्ठ र अध्यक्ष प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यस्तै नेसपाभित्रकै हमेन्द्र राय यादव नेतृत्वको समुह पनि एकता आउने प्रकृया जारी रहेको बताइएको छ ।
यस्तै विप्लव सि नेतृत्वको नेकपासंग पनि एकताको छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ । संसदीय हिसावले माओवादी केहि कमजोर हुँदा संघीय गणतन्त्रमाधि धावा बोल्ने र जनताका अधिकार खोसिने डर भएकाले माओवादी धारका कम्युनिष्टहरुबीच एकता हुनुपर्ने नेताहरुले जोड दिइरहेका छन् ।











