
काठमाडौं । देशकै सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरका मेयर बालेन शाहको सम्बन्ध एमालेसंग पानी बाराबारकै स्थितीमा छ । मेयर जितेपछि बालेनले फुटपात फराकिलो बनाउने काम होस वा अवैध संरचना हटाउने काम होस, बालेनसंग एमाले ठोक्कियो ।
कतिपय ठाउँमा त एमालेकै युवा नेताहरु बालेनको प्रतिवादमा उत्रिए पनि । मेयर बालेनको टकराव एमालेका मन्त्रीदेखि प्रधानमन्त्री केपी ओलीसम्मै देखियो ।
महानगरभित्रका एमालेबाट जितेका वडाध्यक्षहरुसंग पनि बालेनको सम्बन्ध राम्रो छैन् । यसो त काँग्रेसका वडाध्यक्षहरुसंग पनि बालेनको त्यस्तै छ । स्वतन्त्र मेयर भएकाले बालेनलाई आफ्नै वडाध्यक्षहरुबाट असहयोग भएको चर्चा छ । उपमेयर सुनिता डंगोल पनि एमालेबाट नै जितेकाले बालेन र सुनिताको सम्बन्ध पनि राम्रो देखिदैन् । जसको ज्वलन्त उदाहरण महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गर्ने र रोक्ने कार्यमा देखिएको थियो । मेयर बालेन, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालीका सदस्यहरुबीच खटपटका कारण महानगरको बजेट आजसम्म पनि आउन सकेको छैन् ।
यो पनि बालेन र एमालेबीचको तितो सम्बन्धकै प्रतिफल हो । समग्रमा भन्दा बालेन र एमाले पानी बाराबारको स्थितीमा छन् ।
यहि अवस्थामा हालै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालेनलाई आफ्नो घरमै बोलाएर भेटवार्ता गरेको बिषयले चर्चा पाइरहेको छ ।
उनिहरुबीच गत बिहीबार भेटवार्ता भएको बताइएको छ । मेयर बालेन भण्डारीको घरमा गएर राजनीतिक भेटवार्ता गर्नुलाई विभिन्न कोणबाट हेरिएको छ । भण्डारीले बालेनलाई आफ्नो घरमा बोलाएर एमालेसंगको बिग्रेको सम्बन्ध सुधार गर्न खोजेको र आफ्नो सकृय राजनीतिमा बालेनको साथ खोजेको रुपमा धरैले अथ्र्याएका छन् ।
भेटवार्ताका पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरभित्रको विवादका सम्बन्धमा मेयर बालेनसंग चासो राखेर बातचित गरेको बताइन्छ । भण्डारीले महानगरले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम अहिलेसम्म ल्याउन नसकेको कारणबारे पनि मेयर बालेनसँग कुराकानी गरेको बताइन्छ। पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीचको भेटवार्ताले एमालेभित्र पनि चर्चा भइरहेको छ ।












