काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्म निरपेक्षताको विरोधमा आज पोस्टर र ब्यानर जलाउने भएको छ । नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने सहितका २२ बुँदे माग राख्दै चरणबद्ध संघर्षमा रहेको राप्रपाले आज धर्म निरपेक्षताको विरोधमा ब्यानर र पोस्टर जलाउने भएको हो ।
राप्रपाले गत ७ फागुनमा केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीहरूलाई ज्ञापनपत्र समेत बुझाई सकेको छ । यस्तै, हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित हस्ताक्षर संकलन समेत गरिरहेको छ । राप्रपाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रासमेत सञ्चालन गरिसकेको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रुपमा आजको कार्यक्रम रहने बताए ।
आज दिउँसो रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुने जनाइएको छ । राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना मागबारे सरकार गम्भीर नभए पार्टीको बैठक बसेर दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने राप्रपाले जनाएको छ ।