काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको शालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ । वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।
नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको शालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ । शालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
कार्यक्रमको नेपाल टेलिभिजन, रेडियो नेपाल लगायतका सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजै दिउसो २ः४५ बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौँ फर्कने कार्यक्रम छ । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुसियालीलाई बुटवल उपमहानगरपालिकाले जीतगढी विजय उत्सव दिवसका रुपमा मनाउँदै छ । सम्पदास्थल किल्ला परिसरमा बैशाख ७ गते शनिवार विजय उत्सव मनाउन लागिएको हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको नवलपुर आगमनलाई प्रभावित पार्ने उद्देश्यले विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नवलपुर जिल्ला बन्द फिर्ता भएको छ ।
यस्तै, प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी नवलपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला सुरक्षा संयन्त्रको बैठकले प्रधानमन्त्री लगायतको सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिनुका साथै तीनै तहका सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।