काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताउनुभएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिमा छोटो समयमा उल्लेखनीय बिकास भएको बताउनुभयो । नेपालमा केही बर्ष अघिसम्म मोबाइल चलाउनु पनि अनौठो मानिने उदाहरण दिदै उहाँले पछिल्लो समय मोबाइलसँग जोडिएको प्रविधि अभिन्न अंग भइसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादन र विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेकोप्रति प्रधानमन्त्री ओलीले गुनासो गर्नुभयो । प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको दाबी छ ।













