बारा । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले घर निर्माण कार्यमा वास्तविक आँधी पीडितहरु कुनैपनि हालतमा नछुट्ने बताएका छन् । शनिवार बारा सुवर्ण गाउँपालिका वडा नं ४ स्थित हर्दिया गाँउमा प्रभावितहरुको घर निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री महासेठले भने, “यदि, पीडित नभएको ब्यक्तीको नाम सिफारिस भएको छ भने त्यसलाई पत्ता लगाई हटाईनेछ,वास्तविक पीडितहरु छुट्नु हुदैन ।”
मन्त्री महासेठले वास्तविक पीडित छुटेको भए अझै पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सिफारिस गरी उनिहरुलाई समेटिने समेत स्पष्ट पारे ।
अनमोल पोष्टसंग सिलन्यास स्थलमा छोटो कुराकानी गर्दै मन्त्री महासेठले ऐलानी जग्गामा बसिरहेका आँधी पीडितहरुको प्रदेश सरकारले अवस्था बुझेर उचित ब्यवस्थापन गर्ने समेत बताए ।
सुवर्ण गाउँपालिकाको चार नम्बर वडास्थित हर्दिया टोलमा करिब ६५ दलित परिवार ऐलानी जग्गामा बस्दै आएका छन् । उनिहरु पुस्तौंदेखि सो ठाँउमा बस्दै आइरहेको उनिहरुले बताएका छन ।
गत चैत्र १७ गते बारा र पर्साका आएको बिनासकारी आँधीमा प्रभावित ब्यक्तीहरुका लागि सरकारले घर निर्माण शनिवारदेखी एकसाथ सुरु गरेको छ ।
दुबै जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा सरकारका विभिन्न मन्त्रीहरुले एकसाथ घर निर्माण कार्यको शिलन्यास गरेका हुन ।
घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले १२ वटा क्लष्टर बनाएर तीन चरणमा काम थालेको छ ।
कुन मन्त्रीले कुन ठाँउमा शिलन्यास गरे ?
आँधी प्रभावितहरुका लागि सरकारले बनाउने घरहरुको शिलन्यास प्रधानमन्त्री र प्रधानसेनापतीको सहभागितामा गर्ने पुर्ब कार्यक्रम रहेपनि बिशेष कारणबस त्यो सम्भव नभएपछि सरकारका विभिन्न मन्त्रीहरुले पैभावित क्षेत्रमा गएर शिलन्यास गरेका छन ।
उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले बाराको फेटा गाउँपालिका वडा नं ६ पुरैनियामा घर निर्माण कायृको शिलन्यास गरेका भने, उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा गएका थिए ।
त्यसैगरी, प्रसौनी गाउँपालिका वडा नं ४ खुट्वा जब्दीमा गृहमन्त्री रामबहादुर थापा बादल, फेटा गाउँपालिका वडा नं ४ भरवलीया शहरी विकासमन्त्री इस्तियाक राई, फेटा गाउँपालिका वडा नं ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा सहभागी भइन् ।
त्यस्तै बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा भूमिव्यवस्थामन्त्री पदमा अर्याल, बाराकै पचारौता नगरपालिका वडा नं ७ बेनौली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरमा उर्जामन्त्री वर्षमान पुन, वीरगञ्ज महानगरको उदयपुरघुर्मीमा खानेपानी मन्त्री विना मगरले घर निर्माणको शिलन्यास गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले बाराको देवताल गाउँपालिका ७ रामपूर्वा र कलैया १३ छोड्की फुलबरियामा घर निर्माणको शिलान्यास गरेका छन् ।
प्रभावितहरुका ट्वाईट र पानीका धाराजडित घरहरु नेपाली सेनाले साउन मध्यसम्म हस्तातंरण गरि सक्ने जनाएको छ । सेनाका अनुसार बारा र पर्सामा १ हजार ४५३ वटा घर निर्माण गर्दैछ । बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ वटा घर बन्दैछन्।
गएको चैत १७ गते आएको हावाहुरीमा परेर बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने करिब ६०० जना घाईते भएका थिए । हजारौं घर र अन्नबाली नष्ट भएका थिए ।