काठमाडौं । काठमाडौंको एक फाइवस्टार होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिवार दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोप प्रहरीले उनिहरुलाई प्रक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, केन्द्रीय अनुन्धान ब्यूरो र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्यायलाई प्रकाउ गरेको परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले बताए ।
अन्य पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेशका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरातका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश का वर्ष ३८ का सुनिल उपाध्याय, उत्तरप्रदेशकै वर्ष ३२ का काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्लीका वर्ष ४३ को रसिद नसिम पक्राउ रहेका छन्।
उनीहरुले हिजो (शुक्रवार) मात्रै होटलमा ३ सयभन्दा बढी नेपालीहरुलाई प्रशिक्षण दिइरहेको डिएसपी बोगटीले जानकारी दिए । उनीहरुले प्रशिक्षणकै लागि भारतबाट पनि २ सयजना भन्दा बढिलाई काठमाडौं ल्याएका थिए ।
पक्राउ परेका रसिद साइन ज्वाइन गुप्रका डारेक्टर भएको खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरुले गत वर्षदेखि नै नेपालमा ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाउपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।