राजपाद्धारा संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय जनता पार्टीले माग गरेको छ । मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन लामो समय वितिसक्दा पनि सार्वजनिक नगरेको भन्दै सोमबारको प्रतिनिधि सभामा राजपाले माग गरेको हो ।

प्रतिनिधि सभा बैठकमा राजपाका सांसद चन्दा चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि आफुहरुले लामो समय देखि माग गर्दै आइरहेको भए पनि सरकारले व्यवास्था गरेको आरोप लगाएकी छन् । उनले सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेको भन्दै सभामुखको ध्यानाकर्षण गराइन्।

बैठक सुरु भएको जानकारी गराउने बित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । राजपाले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सांसद चौधरीले बोलेपछि सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग जायज भएकाले सरकारले अब केही समय पछि  जवाफ दिने बताएका थिए । उनले सरकारले यो विषयलाई गम्भिर रुपमा लिएको र प्रतिवेदन सार्वजनिक गराउन पहल गर्ने भनेपछि राजपाले सहमति जनाएको थियो ।

राजपाले यस अघि पनि आफुहरुले संसदमा पटक पटक लाल आयोगको प्रतिवेदन बुझाउन आवाज उठाउदा पनि सरकारले व्यवस्था गरेका प्रति आपत्ति जनाएको छ । प्रतिवेदन सार्वजनिक गर्नु पर्छ भन्दा, सरकारले आयोगले अध्ययन गरिरहेको छ भनेर जवाफ दिने गरेको राजपाले बताएको छ ।

लाल आयोग सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार