काठमाडौं । गएराती पाँचथरको मिक्लाजुङ गाउँपालिका मा भएको विभत्स घटनामा हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ ।
दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएका सबैको पहिचान खुलेको प्रहरीले बताएको हो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा हत्या गरिएकाको नामावली यसप्रकार छ:
४१ वर्षीय धनराज शेर्मा,
६ वर्षीया इक्सा शेर्मा,
१३ वर्षीया योवना शेर्मा,
आठ वर्षीया मुना शेर्मा,
त्यसैगरी, ७४ वर्षीय बमबहादुर फियाक,
नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती
१२ वर्षीया आशिका खजुम लिम्बू,
३६ वर्षीया जस्मिता फियाक,
र २६ वर्षीया मनकुमारी फियाकको विभत्स हत्या भएको दशमे चौकी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण कुमार खवासले जानकारी दिए।
घटनामा १२ वर्षीया सीता खजुम भागेर बाँच्न सफल भएकी छिन् । उनको स्वास्थ्यचौकी उपचार भइरहेको छ।
हत्यारा मुकुण्डोधारी भएको खुलासा
गएराती पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या गर्नेहरु मुकुण्डोधारी भएको खुल्न आएको छ । घटनामा बाँच्न सफल घाईते एक बालिकाका अनुसार कपडाले मुख छोपेर आएका हत्याराहरुले अन्धाधुन्ध खुकुरी प्रहार गरी विभत्स हत्या गरेका थिए ।
घटनामा भागेर बाँच्न सफल १२ वर्षीया सीता खुजुमले प्रहरीलाई दिएको वयान अनुसार मुकुण्डोधारी हत्याराको समुहले दुबै परिवारका ९ जनालाई घरभित्र छिरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बालिका घाईते भएकाले उनको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
घटना राती भएकाले विहान मात्रै गाँउलेहरुलाई थाहा भएको गाउँपालिका प्रमुख अमरराज माखिम बताए।
घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयको टोली पुगेर घटनाबारे अनुसंन्धान भइरहेको प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।