प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

भोजपुर । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । उक्त घटनामा प्रहरीको गोली लागि विप्लवका एकजना कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ मा पर्ने धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जंगलमा हतियारसहित १५ / १६ जना ब्यक्तीहरु भएको खबर प्रहरीलाई गएपछि प्रहरीले उनिहरुको पिछा गर्दै जाँदा धोद्रे जंगलमा गोली हानाहान भएको थियो । सुरुमा विप्लव समूहबाट फायरिङ भएपछि जवाफी कारवाहीमा षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरे घाईत भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए । विप्लवका अन्य कार्यकर्ताहरु फायरिङ गर्दे भागेको उनको भनाई छ ।

उनका अनुसार खुट्टामा गोली लागेर घाईते भएका घिमिरेको अहिले भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।
घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरी प्रवक्ता राजवंशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार