दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई अर्को धक्का पुगेको छ । विप्लवका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज सहदेव थारू ‘बिहानी’ले उक्त समुह छोडेका छन् ।
थारुले घोराहीमा पत्रकार सम्मेलन गरी विप्लवले अहिले अँगाले बाटो ठिक नभएको भन्दै उक्त समुहबाट आफु अलग भएको घोषणा गरेका हुन । विप्लव नेतृत्वको पार्टीको राजनितिक एजेण्डा, नीति, सिद्धान्त अहिलेको परिवेश अनुसार असुहाउँदो भएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको उनले प्रष्ट पारे ।
नेपाली जनताले देशमा शान्ति र विकास चाहिरहेका बेला विप्लव समुहले युद्धकाल जस्तै गतिविधि गरिरहेकाले उक्त पार्टीमा बसिरहन आफुलाई उचित नलागेको थारुको भनाइ थियो ।
विप्लव समुहलाई सरकारले प्रतिबन्ध लगाईसकेपछि अहिले धेरै कार्यकर्तामा बिचलन र निरासा आएको धेरैको अनुमान छ । उसका गतिविधिलाई सरकारले कडा निगरानीमा राख्दै सयौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरिसकेका छ ।
सरकारले समाजमा शान्ती सुरक्षा कायम गर्नका लागि जुनसुकै कदम चाल्न सक्ने भएकाले विप्लवलाई शान्तीपुर्ण राजनितीमा आउन आह्वान गरिसकेको छ ।
तर, विप्लव समुहले बर्तमान सरकार र अधिकांस राजनितीक दल जनताप्रती उत्तरदायि नभएको र देशमा झन भ्रष्टाचार, अन्याय, दलाली, वेथिती बढ्दै राष्ट्रियता कमजोर भएकाले संघर्षमा जानु परेको भन्दै आएको छ ।