नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष एवम् निवर्तमान सडक यातायात तथा हाईवे, पानीजहाज तथा जलस्रोतमन्त्री नितिन जयराम गड्करीले नेपाललाई हिन्दूराष्ट्र बनाउने कुरामा आफूहरुको कुनै चासो नरहेको स्पष्ट पारेका छन् ।
आइतबार विहान नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने, “नेपालको आन्तरिक मामिलामा भारतले कुनै चासो राख्दैन, आफ्नो देशको कस्तो नीति लिने, कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको नितान्त आन्तरिक मामिला हो ।”
नेपालको विकास द्रुत गतिमा होस भन्ने आफुहरुले चाहेको र सोहीअनुसार नेपाललाई साथ, सहयोग गर्दै आएको उनले प्रष्ट पारे । नेपालको उर्जा क्षेत्रको विकासमा भारतले भरपुर सहयोग गर्ने र त्यसबारे नेपालसंग मिलेर काम गर्ने अझै ईच्छा रहेको समेत गड्करीले बताए ।
भाजपाका नेता नरेन्द्र मोदी पूनः दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेकाले आगामी दिनमा नेपाल भारत द्धिपक्षीय सम्बन्ध अझ सुमधुर हुने पनि गड्करीले विश्वास ब्यक्त गरे।