राधेलाई सुरक्षा संयन्त्रले नै मार्न खोजेको तरुण दलको आरोप

काठमाडौं । नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्यको सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले उक्त आरोप लगाएको हो । साथै तरुण दलले राधेको जीवन रक्षाको माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको बताएका छन् । उनले भण्डारीलाई मार्ने योजना भइरहेको आफुहरुले थाहा पाएको भन्दै जीवनरक्षाको माग गरेको जानकारी गराएका छन् ।
कार्यक्रममा स्थानीय जनक मगरले पुलिस आफैंले तयार पारेको किटानी जाहेरीमा जवरजस्ती हस्ताक्षर गर्न लगाएको बताए ।

राधे बुधबार साँझ मलेखुबाट पक्राउ परेका थिए । उनीमाथि धम्क्याएर धादिङमा हुने ठेक्का पट्टा, अवैध बालुवा खानी लगायतको कमिसन लिने गरेको आरोप छ ।

प्रहरीले राधेलाई रिहा नगरे आफुहरुले देश व्यापी आन्दोलन गर्ने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार