काठमाडौं । आजभोली हरेक दिन जसो माइतीघरमा कुनै न कुनै विषयमा विरोध र प्रदर्शन भइरहेकै हुन्छ । आइतबार दिउसो माइतघरमा भएको प्रदर्शन र विरोधमा फरक रुप देखियो ।
सडकमा पानीको फोहोरा र प्रहरीको भ्यानसहित सुरक्षाका साथ प्रहरीले लाठी प्रहार गरिरहेको दृश्य देखिएको थियो । सडकमा पानीका फोहोरामा कति मानिसहरु लडिरहेका थिए भने कति साइकलमा यात्रा पनि गरिरहेका थिए ।
गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा, लाठी प्रहारका साथै धरपकड समेत गरेको थियो । गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए ।
बाजागाजासहित प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठीचार्ज गर्दा दुई जना घाइते भएका छन् भने चार जनालाई पक्राउ गरिएको छ । घाइतेको नर्भीक र न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकमा गुठीको जग्गा व्यक्तिकरण गर्न लागेको भन्दै विरोध गरिएको हो । प्रदर्शनकारीले अहिलेको गुठी सम्बन्धी विधेयक पारित भयो भने गुठीको जग्गा शक्तिशाली व्यक्तिहरुको कब्जामा पर्ने डर भएको बताएका छन् ।