काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारहरुलाई ल्यापटप उपहार दिएको बिषयले चर्चा पाइरहेका बेला सांसदहरुलाई ल्यापटप बाँड्ने तयारी भइरहेको कुरा बाहिर आएको छ । सरकारले संघीय सांसदका सबै सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो ।
संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको थियो। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउन लागेका हुन ।
‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च भइरहेकाले सांसदहरुलाई ल्यापटप बाड्न थालिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो । सांसदलाई ल्यापटप बांड्न लागिए पनि ल्यापटप चलाउन भने थोरै सांसदहरुलाई मात्रै आउँछ ।
त्यसका लागि सांसदहरुलाई ल्यापटप प्रयोगसम्बन्धी तालिम दिने योजना समेत रहेको प्रवक्ता पाण्डेले बताए ।