इलाम । इलाम भन्ने वित्तिकै धेरैको दिमाकमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका हरिया चिया बगान, बीच बीचमा धुपीसल्लाका रुख, बीचमा घुमाउरो पक्कीबाटो । मनै लोभ्याउने इलाम, कसलाई मन नपर्ला र ?
तर, मान्छेलाई लोभ्याउने इलाममा चिया बगान मात्रै छैनन् यहाँ अन्य पुर्थै चिजहरु छन् । त्यसमध्ये एक हो, इलामको सूर्योदय नगरपालिका ५ मा रहेको श्री अन्तु डाँडा। श्री अन्तु फिक्कल बजारबाट १३ किलोमिटर टाढामा पर्छ ।
श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ । अन्तु सुर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ। इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ।
इलामको यो श्री अन्तु धेरै कुराहरुले प्रख्यात छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटकहरु अवलोकन गर्न पुग्छन्।
स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र विहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्री अन्तुका प्रमुख विशेषताहरु हुन् ।
श्री अन्तुको अर्को एकदमै रमाईलो र उदारहणिय पक्ष भनेको चाहिं गाउँका ४५ घरपरिवार मिलेर एउटा आर्कषक होमस्टे संचालन गरेका छन् ।
जुन होमस्टे आगन्तुक पाहुनाहरुले खचाखच भरिएको हुन्छ । ठाँउ ठाउँ बनाइएका होम स्टेमा अर्गानिक खाना पाइने भएकाले प्रयर्टकहरु त्यहाँ रात बिताउँछन् । बिहानै उठेर सुर्योदय हेर्छन् । श्री अन्तु परिसरमा एउटा सुन्दर ताल पनि छ । जहाँ पर्यटकहरु डुङ्गा सयर गर्छन ।
बिशेषगरी गर्मीयाममा प्रयर्टकहरु श्री अन्तु पुग्ने गर्दछन् । चिसो हावा पानीका कारण गर्मी छल्न पुर्बी नेपालको तराई क्षेत्र, भारत लगायत अन्य देशबाट समेत प्रर्यटकहरु आउने गरेको संचालक कृष्ण अधिकारीले बताए ।
नेपालको प्रयटन विकासमा इलामको श्री अन्तुले पनि योगदान दिदै आएको छ । जसको प्रचार प्रसार, ब्यवस्थापन र पुर्वाधार विकासमा अझै सम्बन्धित निकाय र राज्यले ध्यान दिने हो भने यसले आन्तरिक तथा वाह्य प्रर्यटन विकासमा ठुलो फड्को मार्न सक्छ ।
(इलामबाट फर्केपछि रमा खड्का)