प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एकहप्ते युरोप भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
एक हप्ताअघि जेठ २५ गते बेलायत , स्वीट्जरल्याण्ड र फ्रान्सको भ्रमणमा निस्केको प्रधानमन्त्री ओलीसहित भ्रमण टोली आइतबार बिहान स्वदेश फर्किएको हो ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल, सभामुख कृष्ण महरा लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन्।

विदेश भ्रमणमा रहँदा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनका साथै बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसंग भेट गरे । फ्रान्सको पेरिसमा उनले प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका थिए ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसंगै उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार