काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसद लक्षमणलाल कर्णले राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा आक्रोश ब्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद कर्णले भने, “समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको होइन ? लोकसेवा आयोगको अध्यक्षले भन्छ–म मान्दिनँ । प्रवक्ताले भन्छ–म मान्दिनँ । अब कसको कुरा मान्ने त ?”
संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न गरेको निर्देशन नमानेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको उनको दाबी छ ।
‘संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ?’ सांसद कर्णले प्रश्न गरे । “एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी विज्ञापन स्थगन गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन आयोग र मन्त्रीले नमानेकोमा आक्रोशित बनेका कर्णले भने, ‘विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभए पनि हामीलाई चिन्ता छ ।”
आयोगले निकालेको असमावेशी विज्ञापन खारेजीको माग गर्दै अहिले मधेस लगायत जनजाती, महिला, दलित, मुस्लिम, अपाङ्गता भएकाहरु आन्दोलित रहेको स्मरण गराउँदै सांसद कर्णले संविधान विपरितको विज्ञापन तत्काल खारेजीको माग समेत गरे ।
सांसद कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण समेत गराएका छन् ।
स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गत जेठ १५ गते झण्डै नौहजार कर्मचारीको विज्ञापन गरेको थियो । उक्त विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै विरोध भइरहेको छ ।