काठमाडौँ । चीनबाट रेल काठमाडौं ल्याउने केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले यसबारे चिनिया अधिकारीसंग बिस्तरित छलफल गर्नेछ । प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी रहेका छन् ।
रेल विभागका इन्जिनियर किरण कार्कीका अनुसार रेलमार्गको डिपिआरलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलले चीनको नेशनल रेल्वे अथोरिटीका पदाधिकारीसँग द्विपक्षीय छलफल गर्नेछ ।
चिनियाँ पक्षले रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको पनि एक वर्ष पूरा भइसकेको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्ग प्रशस्त भएको छ ।
गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा सहभागी भएका चिनियाँ अधिकारीले समेत उक्त रेलमार्ग निर्माणका विषयमा उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १९ देखि गर्नुभएको चीन भ्रमणका क्रममा समेत सो रेलमार्गको विषयमा महत्वपूर्ण सहमति भएको छ ।
काठमाडौं–केरुङ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययनमा देखिएको छ । सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने तथा करीब रु तीन खर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।