खुशीको खबरः अब अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट घुम्दै

काठमाडौं । अन्तरिक्षमा अब नेपालको आफ्नै स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थालेको छ । गत वैशाख ५ मा अमेरिकाबाट प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

नेपालले अन्तरिक्षमा पठाएको स्याटेलाइट नेपालीले नै बनाएको हो । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले उक्त स्टाटेलाइट तयार गरेका हुन । त्यहि ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा नेपालले पठाइएको हो ।

अन्तरिक्षमा रिलिज भएपछि अब यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन सुरु गर्नेछ। यसले नेपालको मौसमी सूचनामा अझ सहज हुने विस्वास गरिएको छ ।

अन्तरिक्षमा पठाइएको यो नानो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल वित्रान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को भनाइ छ ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।

यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार