काठमाडौं। शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । सोमबार जारि गरिएको विज्ञापन अनुसार असार २ गतेदेखि असार २२ गतेसम्म आवेदन फाराम भर्ने समयसिमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर भने असार २९ गतेसम्म फाराम भर्न सकिनेछ ।
आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।
‘खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ’ थपलियाले भने ‘यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।’
माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।
यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ ।
विज्ञापन सूचना हेर्नुहोस
https://drive.google.com/file/d/1A8Vt7lDf7-yOBoB7uSs2t2Z09e5Os7aU/view