काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल भएको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार तोकिनु पर्नेमा जोड दिएका छन् । सांसद नवराज सिलवालले समायोजन गर्न बनेको बिधेयक प्रकृया अगाडि बढाउन सुझाव दिनुभयो । सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताउनुभयो । यसैबिच काँग्रेस सांसदहरुले प्रदेश सरकारसँग छलफल नै नगरी सरकारले उक्त विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । सांसदहरु दिलेन्द्रप्रसाद बडु, र प्रेम सुवाललगायतले प्रदेश प्रहरी निर्माणको लागि पर्याप्त छलफल आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा गृह मन्त्री रामबहादुर थापाले प्रहरी ऐनलाई राजनीतिक ढंगबाट समाधान गर्न आवश्यक रहेकाले ऐन ल्याउन ढीलाई भएको बताउनुभयो । उहाले दरबन्दी निश्चित गर्ने गरी ऐनलाई अगाडि बढाइने पनि बताउनुभयो ।











